काठमाडौं, वैशाख १२ — काठमाडौंको थापाथली क्षेत्रमा रहेको सुकुम्बासी बस्ती हटाउने कार्य आज बिहानैदेखि जारी रहेको छ। लामो समयदेखि विवादित बनेको उक्त क्षेत्र खाली गराउने अभियान सरकार तथा काठमाडौं महानगरपालिकाको समन्वयमा सञ्चालन भइरहेको हो।
बस्ती क्षेत्रमा बसोबास गर्दै आएका केही परिवारहरू सरकारलाई सहयोग गर्दै आफैं वैकल्पिक स्थानतर्फ सरिरहेका छन् भने सामान सार्न नसक्नेहरूलाई नेपाल प्रहरी र महानगर प्रहरीको सहयोगमा सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ।
अभियानलाई व्यवस्थित बनाउन बिहानैदेखि ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा महानगर प्रहरी परिचालन गरिएको छ। हालसम्म कुनै अप्रिय घटना नभएको र अवस्था शान्तिपूर्ण रहेको प्रशासन स्रोतले जनाएको छ।
सरकारले वास्तविक सुकुम्बासीहरूको पहिचान गरी उचित आवास व्यवस्थापन गर्ने तयारी गरिरहेको बताइएको छ। पहिचान प्रक्रिया पूरा नहुँदासम्म प्रभावित परिवारहरूलाई अस्थायी रूपमा सुरक्षित बसोबास, खानपान तथा आवश्यक सहयोगको व्यवस्था गर्ने तयारीसमेत गरिएको छ।
थापाथली क्षेत्र नदी किनार तथा सार्वजनिक जग्गामा अव्यवस्थित बसोबासका कारण बाढी जोखिम, फोहोर व्यवस्थापन, यातायात अवरोध तथा शहरी सौन्दर्यमा असर पर्दै आएको भन्दै लामो समयदेखि व्यवस्थापनको माग उठ्दै आएको थियो।
यसअघि पनि पटक–पटक हटाउने प्रयास भए तापनि विभिन्न कारणले सफल हुन सकेको थिएन। अहिले भने सुरक्षाकर्मी, महानगर र स्थानीयको समन्वयमा बस्ती हटाउने कार्य अघि बढिरहेको छ।



प्रकाशित २०८३/०१/१२ सनिबार १२;३९ दिउँसो


