काठमाडौं, वैशाख ११ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नदी किनारका सार्वजनिक, सरकारी तथा पर्ती जग्गामा वर्षौंदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका घरटहरा खाली गर्न अत्यन्त जरुरी सूचना जारी गरेको छ।
प्रशासनले सार्वजनिक आवागमन, शहरी पूर्वाधार निर्माण तथा नदीको प्राकृतिक बहावमा प्रतिकूल असर परेको उल्लेख गर्दै जोखिमपूर्ण क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिहरूलाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेको हो।
जारी सूचना अनुसार अवैध रूपमा बनाइएका घरटहराहरू २०८३ वैशाख ११ गते साँझ ७ बजेभित्र खाली गरिसक्नुपर्नेछ। आफैं सार्न नसक्ने अवस्थामा महानगरीय प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहयोग लिन सकिने प्रशासनले जनाएको छ।
यस्तै, घरटहरामा रहेका निजी सरसामान, लत्ताकपडा, घरपालुवा पशुपंक्षी लगायतका सामग्री सुरक्षित स्थानमा सार्न भनिएको छ। अपाङ्गता भएका व्यक्ति, साना बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा बिरामीलाई प्राथमिकताका साथ अन्यत्र सार्न पनि आग्रह गरिएको छ।
प्रशासनका अनुसार वैशाख १२ गते बिहान ६ बजेदेखि घरटहरा हटाउने तथा अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गराउने कार्य सुरु हुनेछ। सो कार्यमा अवरोध पुर्याए कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।
सूचनामा हटाइएका व्यक्ति तथा परिवारलाई सरकारले तोकेका आधारभूत न्यूनतम सुविधा उपलब्ध हुने स्थानमा अस्थायी रूपमा राखिने उल्लेख गरिएको छ। साथै, वास्तविक भूमिहीन सुकुम्बासीको लगत संकलन तथा स्क्रिनिङ कार्य तत्काल सुरु गरिने र आगामी १० देखि १५ दिनभित्र पहिचान भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित व्यवस्था गर्ने तयारी भइरहेको प्रशासनले जनाएको छ।
प्रशासनले सूचनाको अटेर गरी बसेको खण्डमा संयुक्त कारबाहीका क्रममा भत्काइने संरचना तथा क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवारी स्वयं सम्बन्धित व्यक्तिले व्यहोर्नुपर्ने स्पष्ट पारेको छ।

प्रकाशित २०८३/०१/११ शुक्रबार १०:०४ राति


