काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि गरिएको कारबाहीबाट हिजो सोमबार मात्रै २४ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २४ घण्टाको अवधिमा विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २ सय ९३ जना सवारी चालक कारबाहीमा परेका हुन्।
कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ११३ जना, राइड सेयरिङ सम्बन्धी उल्लंघन गर्ने १८४ जना, रेड लाइट उल्लंघन गर्ने १५७ जना, तीव्र गतिमा सवारी चलाउने १२४ जना, लेन अनुशासन उल्लंघन गर्ने २१९ जना, सडक तथा फुटपाथ अतिक्रमण गर्ने १२३ जना, नो हर्न नियम उल्लंघन गर्ने ७३ जना रहेका छन्।

यस्तै, अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९ सय ९५ जना चालक समेत कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न तथा दुर्घटना न्यूनीकरणका लागि नियमित रूपमा निगरानी र कारबाहीलाई तीव्र बनाइएको जनाएको छ। साथै, सवारी चालकलाई ट्राफिक नियम पालना गर्न आग्रह गर्दै नियम उल्लंघन गरे कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।
प्रकाशित २०८३/०१/२२ मंगलबार ८:१२ बिहान


