काठमाडौं । काठमाडौँ महानगरपालिकाले होल्डिङ सेन्टरमा रहेका ५२ जना बालबालिकालाई आजदेखि विद्यालय पठाउने तयारी गरेको जनाएको छ।
महानगरको शिक्षा विभागले विद्यार्थी तथा अभिभावकसँग परामर्श गरेर उनीहरूको शैक्षिक क्रियाकलापलाई निरन्तरता दिने कार्यक्रम बनाइरहेको जनाएको छ।
विद्यालय उमेर समूहका बालबालिकामध्ये ३० जना विद्यार्थीका अभिभावकले आफ्ना नानीबाबुलाई छात्राबासमा राखेर अध्ययन गराउने इच्छा व्यक्त गरेका छन्। शिक्षा विभागले अभिभावकको चाहना बुझ्न फाराम भराएको थियो।
महानगरका अनुसार ५ जना छात्रा र ६ जना छात्रले भने छात्राबासमा बस्न अनिच्छा जनाएका छन्। अन्य अभिभावकबाट भने अझै स्पष्ट धारणा प्राप्त हुन बाँकी रहेको बताइएको छ।

शिक्षा विभागका वरिष्ठ शाखा अधिकृत सुशिल सुवेदीका अनुसार छात्राबासमा बस्न इच्छुकमध्ये ११ जना छात्रा र १९ जना छात्र रहेका छन्।
उहाँका अनुसार विद्यार्थीहरूलाई आवश्यक पर्ने पोशाक तथा शैक्षिक सामग्रीको आवश्यकताबारे समेत विवरण संकलन गरिएको छ।
महानगरपालिकाले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको शिक्षा नरोकिने गरी आवश्यक व्यवस्थापन गरिरहेको जनाएको छ।

तस्बिरहरु :- काठमाडौँ महानगरपालिका






प्रकाशित २०८३/०१/२२ मंगलबार ८:३३ बिहान


