काठमाडौं, वैशाख २२ — प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षा क्षेत्र र कर्मचारीतन्त्रबाट दलगत राजनीतिक प्रभाव हटाउने उद्देश्यले अध्यादेशमार्फत सुधारात्मक कदम अघि बढाइएको दाबी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको पोस्टमार्फत उनले वर्षौंदेखि विद्यार्थी र कर्मचारी संगठनहरू दलगत स्वार्थमा प्रयोग हुँदै आएको आरोप लगाउँदै त्यसले प्रणालीप्रति जनविश्वास कमजोर बनाएको बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार शिक्षालय र कर्मचारी संगठनहरू धेरैजसो अवस्थामा विद्यार्थी तथा कर्मचारीको हितभन्दा बढी राजनीतिक दलका प्रभाव क्षेत्रका रूपमा प्रयोग भएको भन्दै उनले यसलाई “स्लिपर सेल” जस्तो संरचनाको रूपमा व्याख्या गरेका छन्।
उनले योग्यता र दक्षताभन्दा पहुँच र राजनीतिक निकटताको आधारमा अवसर वितरण हुने प्रवृत्तिले राज्य संरचना कमजोर बनेको उल्लेख गरेका छन्।

पोस्टमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने पहल संगठन विस्तारका लागि नभई प्रणाली सुधारका लागि गरिएको स्पष्ट पारेका छन्। उनका अनुसार विगतको अनुभवले थप दलगत संगठन बनाएर समस्या समाधान नहुने देखाइसकेको छ।
प्रधानमन्त्री शाहले अब शिक्षालयमा दलको झण्डा निषेध र कर्मचारीतन्त्रमा दलको झोला निषेध गर्ने नीति अघि सारिएको उल्लेख गरेका छन्। यसले कुनै पनि नागरिकको अधिकार नखोस्ने तर पेशागत स्वतन्त्रता मजबुत बनाउने उनको दाबी छ।
उनका अनुसार अब सरकारी नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता नभई विधि, क्षमता र दक्षता हुनेछ। उनले विद्यार्थीले राजनीति गुरुबाट सिक्नुपर्ने र कर्मचारीले कुनै दलको प्रभाव होइन, जनताको सेवामा केन्द्रित हुनुपर्ने धारणा राखेका छन्।
प्रधानमन्त्री शाहले यो कुनै पार्टीविरुद्धको अभियान नभई राज्य संरचना सुधार र भविष्य सुरक्षित गर्ने प्रयास भएको स्पष्ट पारेका छन्। उनले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने उद्देश्य रहेको दोहोर्याएका छन्।

पोस्टको अन्त्यमा उनले अध्यादेशमार्फत यस्ता विकृतिहरू हटाइसकिएको उल्लेख गर्दै सरकार जनचाहनाअनुसार काम गर्न प्रतिबद्ध रहेको बताएका छन्। “परिवर्तन भाषणले होइन, निर्णयले आउँछ,” भन्दै उनले सबैको साथ र विश्वास आवश्यक रहेको आग्रह गरेका छन्।
यस्तो छ प्रधानमन्त्री ज्यू को फेसबुक पोस्ट जस्ताको त्यस्तै
धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो।” वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने।योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो।
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ।तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो ,शिक्षालयमा दलको झण्डा निषेध।कर्मचारीतन्त्रमा दलको झोला निषेध।यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ।
हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो।यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो।शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ ।
हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।
प्रकाशित २०८३/०१/२२ मंगलबार १०:०७ बिहान


