काठमाडौं । पूर्व सञ्चारकर्मी तथा सांसद राजिव खत्रीले सरकारले हाल अघि बढाइरहेको काम सुकुम्बासी व्यवस्थापनको विरोध नभई वास्तविक सुकुम्बासीको संरक्षण र बिचौलिया प्रवृत्तिको अन्त्य गर्ने प्रयास भएको बताएका छन्।

उनले सुकुम्बासीको नाममा राजनीति गर्ने, उनीहरूलाई झुक्याउने, ठग्ने र आफ्नो स्वार्थ पूरा गर्ने समूहका कारण वास्तविक सुकुम्बासीहरू वर्षौंदेखि पीडित बनेको उल्लेख गरे।
सांसद खत्रीले वर्षौंदेखि लालपुर्जाको पर्खाइमा रहेका वास्तविक सुकुम्बासीलाई सरकारले लालपुर्जा वितरण प्रक्रिया सुरु गरेपछि बिचौलिया, भूमाफिया तथा अवैध अतिक्रमणकारीहरू आफैं भाग्ने वा आत्मसमर्पण गर्न बाध्य हुने दाबी गरे।
उनका अनुसार सुकुम्बासीको नाममा राजनीति गर्ने समूहहरूको विरोध पनि त्यसपछि स्वतः अन्त्य हुनेछ।
“यथार्थमा सुकुम्बासी समस्या होइनन्, सुकुम्बासीको नाममा राजनीति गर्ने प्रवृत्ति नै मुख्य समस्या हो,” उनले भने।

उनले हरेक वर्ष बाढी तथा प्राकृतिक विपद्को जोखिम भएका क्षेत्रमा नागरिकलाई बस्न बाध्य बनाउनु उचित नभएको उल्लेख गर्दै सरकारले सुरक्षित स्थानमा व्यवस्थित बसोबासको व्यवस्था गर्न प्रतिबद्ध रहेको बताए।
जोखिमरहित र सुरक्षित आवास प्रत्येक नागरिकको अधिकार भएको उनले जोड दिए।
सांसद खत्रीले फेसबुक मा यस्तो लेखेका थिए
सरकारले अहिले गरिरहेको काम सुकुम्बासी व्यवस्थापन होइन, मात्रै सुकुम्बासीको नाम बेचेर खाने अनि तिनैलाई लुट्ने, ठग्ने र लाजनीति गर्ने ठुलो हुडार प्रवृतिहरुको जत्थाबाट वास्तविक सुकुम्बासीहरुको उद्दार हो ।
जव वर्षौदेखि लालपुर्जाको पर्खाइमा बसेका सक्कली सुकुम्बासीहरुलाई सरकारले लालपुर्जा उपलब्ध गराउन शुरु गर्छ तब बिचौलिया भुमाफिया अतिक्रमणकारीहरु आफै भाग्नेछन् या आत्मसमर्पण गर्नेछन् । सुकुम्बासीको नाममा राजनीति गर्नेहरुको रोइलो पनि बन्द हुनेछ ।
यथार्थमा सुकुम्बासी समस्या होइन, सुकुम्बासीका नाममा लाजनीति गर्नेहरु हुन् । अब कसैको राजनीतिक स्वार्थ पुरा गर्न हरेक वर्ष बाढीको जोखिम कसैले मोल्न सक्दैन । सरकार सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउन प्रतिवद्ध छ । जोखिमरहित व्यवस्थापन हरेक नागरिकको अधिकार हो ।
प्रकाशित २०८३/०१/२१ सोमबार ६:३० बेलुका


