काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि गरिएको कारबाहीबाट एकै दिनमा १८ लाख ७६ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहीबार मात्रै विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ८०६ सवारी चालक कारबाहीमा परेका हुन्।
प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार मापसे गरेर सवारी चलाउने ७७ जना, राइड सेयरिङ्ग सम्बन्धी नियम उल्लंघन गर्ने १६२ जना, रेड लाइट उल्लंघन गर्ने १०६ जना, तीव्र गतिमा सवारी चलाउने ८८ जना, लेन मिच्ने ८४ जना, सडक तथा फुटपाथ अतिक्रमण गर्ने ७७ जना, नो हर्न क्षेत्र उल्लंघन गर्ने ३९ जना, वन–वे उल्लंघन गर्ने १११ जना तथा अन्य विभिन्न कसुरमा १ हजार ६२ जना चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले उपत्यकामा सवारी अनुशासन कायम गर्न नियमित निगरानी तथा कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ। साथै सुरक्षित र व्यवस्थित यातायातका लागि ट्राफिक नियमको पालना गर्न सबै चालकलाई आग्रह गरिएको छ।
प्रकाशित २०८३/०१/२५ शुक्रबार ६:२७ बिहान


