काठमाडौँ ।
नेपालले पहिलो पटक टी–२० क्रिकेट विश्वकप खेल्दै गरेको ऐतिहासिक अवसरमा काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विभिन्न सार्वजनिक स्थानमा नेपाल–इङ्ल्याण्ड बीचको खेल निःशुल्क प्रत्यक्ष (लाइभ) प्रसारण गर्ने व्यवस्था गरेको छ।
काठमाडौँ महानगरपालिका को आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै निर्वाचन आयोगको सहमतिमा टी–२० क्रिकेट विश्वकप २०२६ अन्तर्गत आज हुने नेपाल र इङ्ल्याण्डबीचको खेल काठमाडौँका विभिन्न स्थानबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको हो ।
महानगरपालिकाका अनुसार खेलप्रेमी नागरिकहरूले आफूलाई पायक पर्ने सार्वजनिक स्थानमा गएर सामूहिक रूपमा खेलको आनन्द लिन सक्नेछन्। यस अवसरमा नेपाली क्रिकेट टोलीको विजयको कामना गर्दै खेलाडीहरूलाई हौसला प्रदान गर्नसमेत आह्वान गरिएको छ।
महानगरले खेलाडीहरूको आत्मविश्वास, समूहगत क्षमता, धैर्यता, एकाग्रता, एथलेटिक क्षमता तथा रणनीतिक सोचजस्ता पक्षको प्रोत्साहन आवश्यक रहेको उल्लेख गरेका छन्। साथै, सार्वजनिक स्थलमा हुने प्रत्यक्ष प्रसारणलाई आपसी सद्भाव, संयमता र शान्तिपूर्ण रूपमा अवलोकन गर्न आग्रह गर्दै आपसी सुरक्षा सबैको दायित्व भएको स्मरण गराइएको छ।
प्रत्यक्ष प्रसारण हुने स्थानहरू:
- टुँडिखेल
- तीनकुने चौर (वडा नं. ३२)
- नन्दीकेशर बगैँचा (वडा नं. १)
- सिफल चौर (वडा नं. ७)
- जुद्ध शालिक अगाडि (वडा नं. २३)
- मखन चोक (वडा नं. २४)
- हाँडीगाउँ डबली (वडा नं. ५)
महानगरपालिकाको यस पहलले विश्वकपमा सहभागी नेपाली क्रिकेट टोलीप्रति जनसमर्थन र उत्साह थप बढ्ने अपेक्षा गरिएको छ।
प्रकाशित २०८२/१०/२५ ३:०६


