धादिङ ,२७ माघ
धादिङ क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार बोध नारायण श्रेष्ठले बुथ कब्जा, मासुभात खुवाउने र पैसा बाँड्ने जस्ता गलत अभ्यास नगर्ने स्पष्ट पारेका छन्। एक कार्यक्रममा बोल्दै श्रेष्ठले भने, “म बुथ कब्जा गर्दिनँ, मासुभात खुवाउँदिनँ, पैसा बाँड्दिनँ। त्यसै कारण चुनाव हारे भने पनि मलाई कुनै फरक पर्दैन।”
उनले मत किनेर जित्नेहरूले देश बेच्ने र जितेपछि गाउँ नफर्किने आरोप लगाउँदै भने, “मत किन्नेले देश बेच्छ। मासुभात खुवाउनेहरूले विकासका काम गर्दैनन् र चुनाव जितेपछि गाउँ फर्केर पनि जाँदैनन्।”
आफ्नो २० बर्ष लामो अनभव ले भित्रबाट सूक्ष्म अध्ययन गरेर राजनीति सुरु गरेको उल्लेख गर्दै श्रेष्ठले आफू हार्छु जस्तो नलागेको बताए। “६५ वर्ष पार गरेका मतदाताहरूले नै हामीलाई कसैको डर छैन, यो पटक परिवर्तन चाहिन्छ भनेर खुलेर भनिरहेका छन्। धेरै वर्ष गलत गरियो, अब परिवर्तन चाहिन्छ भन्ने आवाज आएको छ,” उनले भने।
जनताको सूक्ष्म पीडा आफूले बुझेको दाबी गर्दै श्रेष्ठले सामाजिक व्यवहार परिवर्तनमा समेत आफू सक्रिय रहेको बताए। केहि पहिला खुल्ला दिसामुक्त अभियानका क्रममा “चर्पी नबनाउनेलाई चर्पी बनाउन लगाएको छु, हात नधुनेलाई हात धुनुपर्छ भनेर लाग्ने मान्छे हुँ। म जनताको सूक्ष्म पीडा बुझेको व्यक्ति हुँ,” उनले भने।
अहिले बुढीगण्डकी आयोजना निर्माणलाई लिएर पटक–पटक चुनावी एजेन्डा बनाइँदै आएको भन्दै श्रेष्ठले प्रश्न गरे, “बुढीगण्डकी बनाउँछु भनेर धेरै सुन्ने गरिएको छ। मेरो प्रश्न छ—यस अघिका प्रधानमन्त्री को थिए? अर्थमन्त्री को–को थिए? अहिलेसम्म केही नगरी फेरि चुनावमा किन यो नयाँ एजेन्डा बनाइयो?”
पत्रकारले राखेको अर्को प्रश्नमा धादिङका जनताले नेताहरूलाई गाली गर्ने कारण जितेपछि गाउँ नफर्किनु नै रहेको उल्लेख गर्दै उनले आफू त्यसको अपवाद हुने दाबी गरे। “म राजनीति मा पहिलो पटक आएको मान्छे हुँ। अरूले गल्ती गरे, त्यसको गाली मलाई गरिँदैछ। म भोट माग्न जाँदा पनि गाली खाइरहेको छु, तर त्यो मलाई स्वीकार्य छ,” उनले भने, “म जितेपछि गाउँ फर्किने नेता हुनेछु।”धादिङ को बिकाशमा मेरो योगदान रहिरहने छ ।
प्रकाशित २०८२/१०/२७ १०:५२


