सिन्धुली ,फागुन ०४
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार आशिष गजुरेलले सार्वजनिक यातायात क्षेत्रको समग्र सुधारका लागि स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।
उम्मेदवार गजुरेलका अनुसार सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यसहित देशभरका ७५३ वटै पालिकालाई क्लस्टरमा विभाजन गरी प्राधिकरण मोडेलमा सञ्चालन गरिने योजना अघि सारिएको छ। यस मोडेल अन्तर्गत निजी तथा सार्वजनिक क्षेत्रको संयुक्त लगानी सुनिश्चित गरिने उनको भनाइ छ।
उनले सार्वजनिक यातायातमा एकीकृत समय तालिका, टिकेट प्रणाली, रुट व्यवस्थापन तथा दीर्घकालीन योजना लागू गरिने उल्लेख गर्दै हालको अव्यवस्थित अवस्थाको अन्त्य गरिने बताए। “गरिबले बाध्य भएर चढ्ने यातायात होइन, सबै वर्गले रोज्ने सार्वजनिक यातायात बनाउनु हाम्रो लक्ष्य हो,” उनले भने।
आशिष गजुरेलले प्रस्तावित सुधारपछि सार्वजनिक यातायात सेवा सर्बसुलभ, सुरक्षित, व्यवस्थित र विश्वासिलो हुने विश्वास व्यक्त गरे। सार्वजनिक यातायातको गुणस्तर सुधारले यात्रुहरूको समय, लागत र सुरक्षामा सकारात्मक प्रभाव पर्ने उनको दाबी छ।
प्रकाशित २०८२/११/०४ ५:५६ बेलुका


