काठमाडौँ क्षेत्र नम्बर–५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका ढक बहादुर कार्कीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै जनजीवनसँग प्रत्यक्ष जोडिएका वास्तविक र व्यवहारिक प्रतिबद्धता सार्वजनिक गरेका छन्।
घोषणापत्र सार्वजनिक कार्यक्रममा उम्मेदवार कार्कीले राज्यका स्रोत र साधन जनताको जीवनस्तर सुधारमा केन्द्रित हुनुपर्ने धारणा राख्दै वृद्ध, युवा, श्रमिक तथा गरिब वर्गलाई प्राथमिकतामा राख्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरे।
घोषणापत्र अनुसार उनले वृद्ध भत्ता मासिक ६ हजार रुपैयाँ पुर्याउने, स्वास्थ्य र शिक्षालाई शतप्रतिशत निःशुल्क बनाउने घोषणा गरेका छन्। साथै, आफू निर्वाचित भएमा कुनै पनि सेवा–सुविधा नलिने र वृद्ध भत्ता घर–घरमै वितरण गर्ने व्यवस्था मिलाइने उनले बताएका छन्।
युवाहरूका लागि स्वरोजगार र सीपमूलक विभिन्न कार्यक्रम सञ्चालन गर्ने, एक वर्षभित्र गरिबी शून्यमा झार्ने लक्ष्य लिइएको पनि घोषणापत्रमा उल्लेख छ। पर्यटन क्षेत्रलाई राष्ट्रिय आम्दानीको प्रमुख आधार बनाउँदै वार्षिक ५० लाख पर्यटक भित्र्याउने, जसबाट करिब ६ खर्ब रुपैयाँ राजस्व संकलन हुने र ४० लाख युवाले रोजगारी पाउने दाबी गरिएको छ।
त्यसैगरी, संघीय व्यवस्थालाई थप जनउत्तरदायी बनाउने उद्देश्यसहित देशभर संसदको संख्या ७७ पुर्याउने जस्ता दीर्घकालीन संरचनात्मक सुधारका एजेन्डा पनि घोषणापत्रमा समेटिएका छन्।


प्रकाशित २०८२/११/०८ शुक्रबार ९:४२


