धादिङ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार तथा समाजसेवी आशिका तामाङ ले आफ्नो ८ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको छ।
घोषणापत्र सार्वजनिक गर्दै उम्मेदवार तामाङले धादिङको समग्र विकास, सुशासन र नागरिकको जीवनस्तर उकास्न केन्द्रित स्पष्ट र व्यवहारिक प्रतिबद्धताहरू अघि सार्नु भएको छ। उहाँले विशेषगरी सुशासन स्थापना र भ्रष्टाचारको अन्त्य लाई पहिलो प्राथमिकतामा राख्दै संघीय संसदमा जनताको बुलन्द आवाज बन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
घोषणापत्र अनुसार कृषि क्षेत्रमा “Made in Dhading” अवधारणा लागू गरी स्थानीय उत्पादन, बजारीकरण र रोजगारी सिर्जना गरिनेछ। साथै शिक्षा, खेलकुद र उद्यमलाई जोड्ने एकीकृत मोडल मार्फत युवालाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ।
त्यसैगरी, एकीकृत पर्यटन र पूर्वाधार कोरिडोर निर्माण गरी धादिङको प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्भावनालाई आर्थिक समृद्धिसँग जोडिने उल्लेख गरिएको छ। सुरक्षित बस्ती र आधुनिक पूर्वाधार विकासमार्फत नागरिकलाई गुणस्तरीय जीवन सुनिश्चित गर्ने योजना पनि घोषणापत्रमा समेटिएको छ।
रोजगार सिर्जना र आर्थिक सशक्तीकरण, सामाजिक सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयन, आमा–शिशु सुरक्षा, सुलभ स्वास्थ्य सेवा तथा ट्रमा अस्पताल स्थापना जस्ता विषयलाई समेत घोषणापत्रका प्रमुख एजेन्डाका रूपमा अघि सारिएको छ।


प्रकाशित २०८२/११/०९ शनिबार ७:५०


