काठमाडौं ,फागुन
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता बाबुराम भट्टराई ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी घोषणापत्रको विश्लेषण गर्दै त्यसमा भएका महत्वाकांक्षी लक्ष्य र युवाको रोजगारी समाधानसँगको सम्बन्धबारे आफ्ना दृष्टिकोण व्यक्त गर्नुभएको छ।
भट्टराईका अनुसार, “ठुला पुराना र नयाँ दलहरूको घोषणापत्र हेर्दा जनताको, विशेषतः युवाहरूको बढ्दो आकांक्षासँग मेल खाने प्रयास देखिन्छ। विगतको तुलनामा घोषणापत्रहरूको गुणवत्ता उल्लेखनीय रूपमा बढेको प्रष्ट देखिन्छ। यसमा रास्वपा सापेक्ष रूपले संक्षिप्त तर प्रभावकारी ढंगले आफ्ना कुरा राख्न सफल देखिन्छ।”
उहाँले घोषणापत्रका लक्ष्यहरू महत्वाकांक्षी भए तापनि त्यसलाई सकारात्मक दृष्टिले हेर्नुपर्ने बताउनुभयो। आफ्नै अर्थमन्त्री रहँदा बजेट वक्तव्यमा महाकवि देवकोटाको पंक्ति उद्धृत गर्दै ‘उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक!’ भन्ने सन्दर्भमा अर्थपूर्ण उदाहरण दिनुभयो। साथै, ‘दुइ अंकको बृद्धिदर, दुइ दशक निरन्तर’ लाई राष्ट्रिय नारा बनाएर कार्यान्वयन नगरे देशको अर्थतन्त्रले फड्को मार्न नसक्ने कुरा पनि उहाँले स्मरण गराउनुभयो।
उहाँले भने, “घोषित लक्ष्य खुशीको कुरा हो, तर यसको सफलताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी र समानुपातिक संसदको व्यवस्था सुनिश्चित गर्नु र दुई ठूला छिमेकी अर्थतन्त्रसँग ‘गतिशील पुल’ निर्माण गर्नु अनिवार्य छ।”
भट्टराईले मुख्य दलहरूको मौनता वा विपक्षी भूमिकालाई विडम्बनापूर्ण ठान्दै रास्वपाले यी विषय उठाएकोमा आशा व्यक्त गर्नुभयो। उहाँले जोड दिनुभयो कि निर्वाचनबाट म्यान्डेट लिएर यी सुधार कार्यान्वयन भए मात्र नयाँ समृद्ध नेपालको सपना पूरा हुनेछ, अन्यथा यो निर्वाचन पनि अर्को कर्मकाण्डमै सीमित हुनेछ।

प्रकाशित २०८२/११/०८ शुक्रबार बेलुका ६:३६


