बुटवल ,फागुन
बुटवल ट्याक्सी सेवा प्रा.ली. का ४ वटा ईभी ट्याक्सी फागुन ०६ गते मात्रै विभिन्न दुर्घटनामा परेका छन्। कम्पनीका अनुसार दुर्घटना हुनु नौलो विषय नभए पनि सबै दुर्घटनामा आफ्नै चालकको गल्ती देखिनु गम्भीर चिन्ताको विषय बनेको छ भनिएको छ ।
कम्पनीले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको भनाइमा ट्राफिक नियमको ज्ञानको कमी, अनावश्यक हतार, मोबाइल फोन प्रयोग तथा चालकको लापरवाहीका कारण दुर्घटना नियमित जस्तै भइरहेकामा गुनासो गरिएको छ। “जति पटक ठोके पनि, जसलाई ठोके पनि समितिले बनाइदिन्छ भन्ने मानसिकताले चालकहरू अझ लापरवाह बनेका छन्,” कम्पनीको भनाइ छ।
दुर्घटनापछि सवारी मर्मत खर्च आफैंले व्यहोर्नुपर्ने अवस्था सिर्जना हुँदा कम्पनीलाई ठूलो आर्थिक र व्यवस्थापकीय समस्या परेको पनि उल्लेख गरिएको छ। “कति भन्नु, कसलाई भन्नु र कति पटक सम्झाउनु?” भन्ने प्रश्न उठाउँदै कम्पनीले वर्तमान अवस्था अत्यन्तै गाह्रो बनेको जनाएको छ।
यी सबै समस्या तथा अन्य विविध विषयहरूमा गम्भीर छलफल गर्न आगामी एक साताभित्र व्यवसायी बैठक बोलाइने कम्पनीले जानकारी दिएको छ। बैठकको सूचना सबैलाई उपलब्ध गराइने र सम्बन्धित सबैको अनिवार्य उपस्थितिको अपेक्षा गरिएको छ।


प्रकाशित २०८२/११/०९ सनिबार २:०२ दिउँसो


