काठमाडौं ,फागुन
निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधर ले निर्वाचन आयोगले प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नभई सहकार्य गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताउनु भएको छ । निर्वाचनका क्रममा पत्रकारको भूमिका संवेदनशील र महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले सत्य, पुष्टि भएका र सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ ले आयोजना गरेको कार्यक्रममा आयुक्त डा. तुलाधरले स्वतन्त्र र जिम्मेवार पत्रकारिताले स्वच्छ र निष्पक्ष निर्वाचन सुदृढ हुने बताउनु भयो ।
महासङ्घकी अध्यक्ष निर्मला शर्मा ले निर्वाचन अघि आयोजना गरिएको यस्तो कार्यक्रमले पत्रकारको आत्मविश्वास बढाउनुका साथै के गर्ने र के नगर्ने विषयमा स्पष्टता ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भयरहित वातावरणमा सूचना सङ्कलन र समाचार सम्प्रेषणका लागि सहयोग गर्न सबै सरोकारवालासँग आग्रह गर्नुभयो ।
महासङ्घका सचिव प्रकाश धौलाकोटी ले उपत्यकाका पत्रकारका लागि निर्वाचन आचारसंहितासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको र शनिबारदेखि सातै प्रदेशमा विस्तार गरिने जानकारी दिनुभयो ।
महासङ्घले निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रममा पत्रकारलाई आचारसंहिताको प्रभावकारी पालना, जिम्मेवार समाचार सम्प्रेषण र पेसागत मर्यादाबारे मार्गदर्शन दिइएको थियो । सहभागी सञ्चारकर्मीहरूले निर्वाचनमा निष्पक्ष, व्यावसायिक र आचारसंहिताप्रति प्रतिबद्ध पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित २०८२/११/०९ सनिबार ९:१५ बिहान


