काठमाडौं ,फागुन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एक कार्यक्रममा नेकपा (एमाले) को झण्डा जलाइएको भिडियो सार्वजनिक भएपछि उत्पन्न विवादबारे रास्वपा नेत्री ज्वाला संगौलाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ।
नेत्री संगौलाले फेसबुकमा लेख्दै झण्डा जलाउने व्यक्ति पक्राउ परिसकेको र उनी रास्वपाका आधिकारिक कार्यकर्ता नभएको कुरा पुष्टि भइसकेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार प्रहरी अनुसन्धानले उक्त व्यक्ति पार्टीसँग आबद्ध नरहेको स्पष्ट भइसकेको छ।
यति स्पष्ट हुँदाहुँदै पनि सडकमा उत्रिएर रास्वपा विरुद्ध नाराबाजी भइरहेकोप्रति आपत्ति जनाउँदै संगौलाले यसलाई आसन्न निर्वाचनसँग जोड्नु भएको छ। उहाँले फागुन २१ गते हुने निर्वाचनमा केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले ले हार बेहोर्न सक्ने डरका कारण चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्नुभएको छ।
“यस्ता कुरा गाउँकी सामान्य आमाले पनि बुझिसकेकी छन्, अरूले नबुझ्ने कुरा नै छैन,” उहाँले लेख्नुभएको छ। साथै, निर्वाचन निश्चित रूपमा हुने र केही दिनमै राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतको सरकार बन्ने दाबीसमेत उहाँले गर्नुभएको छ।
नेत्री संगौलाले रास्वपाका समर्थकहरूलाई संयमित भएर प्रस्तुत हुन आग्रह गर्दै निराधार आरोपको जवाफ तथ्य र प्रमाणका आधारमा दिनुपर्ने बताउनु भएको छ।

प्रकाशित २०८२/११/१० आईतबार ८:११ बिहान


