प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङ ले निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेको भन्दै गम्भीर आरोप सार्वजनिक गरेकी छिन्।
उम्मेदवार तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको स्टाटसमा धादिङ जिल्ला का विभिन्न स्थानीय तहमा वडाध्यक्ष, मेयर तथा वडा सदस्यहरू राति–राति गाउँमा प्रवेश गरी स्थानीय जनतालाई थर्काउने, डर–धम्की दिने तथा त्रास सिर्जना गर्ने गतिविधि भइरहेको खबर प्राप्त भएको उल्लेख गरेकी छिन्।
उनका अनुसार केही स्थानमा भोजभतेर आयोजना गर्ने, खसी–राँगा काट्ने, सार्वजनिक स्थान अतिक्रमण गर्ने र सरकारी गाडी प्रयोग गर्ने जस्ता गतिविधिहरू समेत भइरहेको जानकारी आएको छ। यस्ता कार्यहरूले निष्पक्ष र स्वतन्त्र निर्वाचनको वातावरणमा गम्भीर असर पार्ने उनको भनाइ छ।
उम्मेदवार तामाङले प्रश्न उठाउँदै भनिन्, “यस्ता गतिविधिमा निर्वाचन आचारसंहिता लागू हुन्छ कि हुँदैन?” उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै छानबिन तथा आवश्यक कारबाहीको माग गरेकी छिन्।
निर्वाचन आचारसंहिता अनुसार सरकारी स्रोत–साधनको दुरुपयोग, मतदातालाई प्रभाव पार्ने किसिमका भोजभतेर तथा डर–धम्कीका गतिविधि प्रतिबन्धित मानिन्छन्।

प्रकाशित २०८२/११/११ सोमबार ७:०६ बिहान


