काठमाडौँ ,फागुन
निर्वाचन आयोग नेपालले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचन चिन्हको भौतिक स्वरूप प्रयोग नगर्न तथा नगराउन आग्रह गरेको छ।
आयोगका अनुसार आउँदो २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी कतिपय राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन चिन्हको भौतिक स्वरूप बोकी प्रचारप्रसार गर्दा सामाजिक शान्ति र सुरक्षामा प्रतिकूल असर परेको भन्ने सूचना तथा गुनासो प्राप्त भएका छन्।
विज्ञप्तिमा उल्लेख भए अनुसार राजनीतिक दल वा उम्मेदवारहरूले कपडा, तुल, फ्लेक्स, कागज जस्ता सामग्रीमा छापी वा प्रिन्ट गरी तोकिएको मापदण्ड अनुसार आफ्नो निर्वाचन चिन्हको प्रचार गर्न सक्ने व्यवस्था छ। तर यसका सट्टा धातु, काठ वा अन्य कुनै पनि कडा सामग्रीबाट बनेका भौतिक स्वरूपका निर्वाचन चिन्ह बोकी प्रचार गर्दा सुरक्षा जोखिम बढेको भन्ने गुनासो आयोगमा प्राप्त भएको जनाइएको छ।
यस सन्दर्भमा निर्वाचन आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई प्रचलित निर्वाचन आचारसंहिता पालना गर्न र शान्तिपूर्ण, सुरक्षित तथा मर्यादित रूपमा निर्वाचन प्रचारप्रसार गर्न पुनः आग्रह गरेको छ।


प्रकाशित २०८२/११/११ सोमबार ६:४१ बिहान


