धादिङ,
पोखराबाट काठमाडौं तर्फ आउँदै गरेको यात्रुबाहक बस आज सोमबार बिहान धादिङ जिल्ला को बेनीघाट–रोराङ गाउँपालिका–५, चरौदी नजिक त्रिशुली नदी मा खस्दा ठुलो मानवीय क्षति भएको छ।
प्रारम्भिक जानकारी अनुसार ग १ ख १४२१ नम्बरको बस अनियन्त्रित भई सडकबाट तल नदी किनारमा खसेको हो। घटनास्थलबाट हालसम्म १७ जनाको शव निकालिएको प्रहरीले जनाएको छ। मृतकमध्ये १३ जना पुरुष र ४ जना महिला रहेका छन्।
दुर्घटनापछि तत्कालै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय बासिन्दा उद्धार कार्यमा खटिएका छन्। घाइतेहरूलाई उद्धार गरी नजिकका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ।
प्रहरीका अनुसार बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण आउन बाँकी रहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र नदीमा हराइरहेकाहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित २०८२/११/११ सोमबार ६:२४ बिहान


