प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्। निर्वाचन परिणाम सार्वजनिक भएपछि, उज्यालो नेपाल पार्टीका अध्यक्ष उक्त क्षेत्रका उमेद्वार कुलमान घिसीङ्ग ले राजुनाथ पाण्डेलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
निर्वाचनमा आफ्नो हार भएतापनि अध्यक्ष घिसीङ्ग ले आफ्नो फेसबुक मार्फत धन्यवाद व्यक्त गर्दै, “यस निर्वाचनमा मलाई विश्वास गर्दै आफ्नो अमूल्य मत प्रदान गर्नु भएका सम्पूर्ण मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछु। यहाँहरूले देखाएको विश्वास र माया मेरो लागि सधैं प्रेरणाको स्रोत रहनेछ। चुनावको परिणाम जे जस्तो भए पनि यस क्षेत्रको समग्र विकास, सुशासन र समृद्धि सहितको उज्यालो नेपाल निर्माणका लागि आगामी दिनमा थप सक्रिय रहनेछु,” भनेका छन्।
अध्यक्ष घिसीङ्ग ले आफ्नो पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक, स्वयंसेवक तथा शुभेच्छुकलाई पनि चुनावी अभियानमा दिएको अथक मेहनत र सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्। उनले विश्वास व्यक्त गर्दै भनेका छन्, “यहाँहरू सबैको साथ, माया र विश्वासले मलाई आगामी दिनहरूमा अझ जिम्मेवार र सक्रिय भएर देश र जनताको सेवामा लाग्न प्रेरणा दिएको छ। हामी सबै मिलेर उज्यालो, समृद्ध र सुशासित नेपाल निर्माणको यात्रालाई निरन्तर अगाडि बढाउनेछौं।”

प्रकाशित २०८२/११/२२ शुक्रबार ९:४४ बेलुका


