काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रबिन्द्र मिश्रले पार्टीबाट राजीनामा दिएका छन्। आज २३ फागुन २०८२ मा प्रकाशित प्रेस विज्ञप्तिमार्फत मिश्रले पार्टीका सबै जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेका हुन्।
उनले आफ्नो निर्णयको कारण स्पष्ट गर्दै भनेका छन् कि देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले यसलाई सशक्त र सङ्गठित रूपमा अघि बढाउन नसकेकोमा आफू जिम्मेवार रहेको महसुस गर्छन्।
मिश्रले भनेका छन्, “विचार भन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन सकिँदैन।”
उनले प्रेस विज्ञप्तिमा दुई मुख्य निर्णय लिएको उल्लेख गरेका छन्:
१) पार्टीका सम्पूर्ण जिम्मेवारीबाट तत्काल प्रभावमा राजीनामा।
२) राजसंस्था पुनर्स्थापना तथा सुशासनसम्बन्धी मुद्दामा आफ्ना अडान यथावत राख्दै गैरदलीय (स्वतन्त्र) रूपमा विचार व्यक्त गर्दै जाने।
मिश्रले गत ९ वर्षको राजनीतिक यात्रामा इमानदारीपूर्वक प्रयास गरेको भए पनि प्रयास अझै पर्याप्त नभएको बताए। उनले देशभन्दा माथि व्यक्तिगत स्वार्थलाई प्राथमिकता नदिने र सबैको सहयोगको कदर गरेको पनि बताएका छन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेकोमा बधाई दिँदै नेपाली राजनीतिको भविष्य उज्यालो रहोस् भन्ने कामना पनि व्यक्त गरेका छन्।

प्रकाशित २०८२/११/२३ सनिबार १२:०१ दिउँसो


