धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका राजेन्द्र प्रसाद पाण्डे ले आफ्नो पराजयपछि सामाजिक सञ्जाल फेसबुकमार्फत धादिङका जनतालाई धन्यवाद व्यक्त गर्दै विजेता उम्मेदवारलाई बधाई दिएका छन्।
राजेन्द्र प्रसाद पाण्डे ले २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम सार्वजनिक भइसकेपछि फेसबुकमा लामो सन्देश लेख्दै धादिङका जनताप्रति कृतज्ञता व्यक्त गरेका हुन्। उनले धादिङ क्षेत्र नम्बर १ का मतदाताले परिवर्तनको चाहना व्यक्त गर्दै आशिका तामाङ लाई विजयी गराएको उल्लेख गर्दै उनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
पाण्डेले आफ्नो राजनीतिक यात्राको स्मरण गर्दै २०४३ सालदेखि धादिङका जनताले निरन्तर विश्वास र समर्थन दिएको उल्लेख गरेका छन्। उनले २०४४ सालमा जिल्ला पञ्चायत सभापति, २०४८, २०५१, २०५६ र २०७९ मा प्रतिनिधिसभा सदस्य, २०७० मा संविधानसभा सदस्य तथा २०७४ मा प्रदेशसभा सदस्यका रूपमा सेवा गर्ने अवसर पाएको बताएका छन्। साथै संसदमा सचेतक, प्रमुख सचेतक, स्थानीय विकास मन्त्री तथा बागमती प्रदेशको मुख्यमन्त्रीका रूपमा सेवा गर्ने अवसर पनि जनताकै मतका कारण सम्भव भएको उनले उल्लेख गरेका छन्।
फेसबुक सन्देशमा उनले सडक, पुल, पिउनेपानी, विद्युत्, अस्पताल, विद्यालय, सिँचाइ लगायतका विकास आयोजनामा आफूले भूमिका खेलेको उल्लेख गर्दै धादिङको विकासका लागि सधैं इमान्दारीपूर्वक काम गरेको बताएका छन्।
पाण्डेले निर्वाचनमा आफूलाई मत दिने सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै चुनावी अभियानमा खटिएका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा सञ्चारकर्मीप्रति पनि आभार प्रकट गरेका छन्। साथै आगामी दिनमा पनि धादिङका जनताको राजनीतिक अभिभावकका रूपमा सेवा गर्दै रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित २०८२/११/२४ आईतबार ३:०७ दिउँसो


