धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका भूमि त्रिपाठी ले निर्वाचन परिणामपछि जननिर्णयलाई सम्मान गर्दै विजयी उम्मेदवारलाई बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लोकतन्त्रमा जनताको निर्णय नै अन्तिम र सर्वोपरि हुने उल्लेख गरेका छन्। उनले धादिङ–१ मा नयाँ शक्तिका रूपमा उदाएको आशिका तामाङ लाई विजय हासिल गरेकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
त्रिपाठीले निर्वाचनमा आफूलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै चुनावी अभियानमा खटिएका पार्टीका नेता–कार्यकर्ता, बुथ प्रतिनिधि, स्वयंसेवक तथा सहयोगीहरूलाई धन्यवाद दिएका छन्।
उनले लोकतन्त्रमा जित–हार स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै यस परिणामलाई महत्वपूर्ण पाठका रूपमा लिएको बताएका छन्। कमजोरीको समीक्षा गर्दै संगठनलाई अझ सुदृढ र जनमुखी बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
साथै, नवनिर्वाचित प्रतिनिधिलाई आवश्यक परे रचनात्मक सुझाव, सल्लाह र सहयोग गर्न आफू सधैं तयार रहने पनि उनले बताएका छन्। धादिङ–१ बाट यस पटक रास्वपा की उम्मेदवार आशिका तामाङ निर्वाचित भएकी हुन्।

प्रकाशित २०८२/११/२४ आईतबार २:१७ दिउँसो


