फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिए पनि आफ्नो अपेक्षित परिणाम हासिल गर्न सकेनन्। यस क्षेत्रबाट सधैं विजय बटुल्दै आएका ओली यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह संग प्रतिस्पर्धा गर्दा करिब ६८,३४८ मतका साथ पराजित भए। ओलीले मात्र १८,७३४ मत प्राप्त गरे।
पराजयको घोषणा पश्चात, ओलीले आफ्नो फेसबुकमा लेख्दै जनताको निर्णयलाई सम्मान गर्ने स्पष्ट संकेत दिएका छन्। उनले भने, “लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु। यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो।”
उनले आफ्नो हारका बाबजुद जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नभएको बताउँदै भविष्यमा जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
यस्तो छ केपी ओली ले लेखेका फेसबुक पोस्ट
दिदीबहिनी तथा दाजुभाइहरू,
यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन।
लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।
यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो।
निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन।
हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।
मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।![]()

प्रकाशित २०८२/११/२८ बिहिबार १२:११ दिउँसो


