रुकुम पूर्वबाट प्रतिनिधि सभा निर्वाचनमा विजय हासिल गर्नुभएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ।
नेपाली कम्युनिस्ट पार्टी रुकुम पूर्वकी जिल्ला संयोजक कुमारी बराल गौतममार्फत जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वमा उक्त खर्च विवरण पेश गरिएको हो। सार्वजनिक गरिएको विवरण अनुसार प्रचण्डको चुनावी अभियानमा कुल १८ लाख ५ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
विवरणमा मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ, यातायात खर्च २ लाख ८४ हजार रुपैयाँ, कार्यालय सञ्चालन सामग्री १ लाख ५२ हजार ८५ रुपैयाँ, इन्धन खर्च ३ लाख ६७ हजार ७ सय ७५ रुपैयाँ खर्च गरिएको जनाइएको छ। त्यसैगरी रेडियो प्रचारमा ४७ हजार ७५० रुपैयाँ, साउण्ड सिस्टममा ३६ हजार ५ सय रुपैयाँ, खाना तथा बसोबासमा २ लाख ७५ हजार ९ सय १५ रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ।
यसैगरी पिउने पानीमा १३ हजार ६ सय रुपैयाँ तथा नमुना मतपत्र र घोषणापत्र छपाइमा ६ लाख १२ हजार ३ सय ८० रुपैयाँ खर्च भएको विवरणमा समावेश गरिएको छ।
तर सार्वजनिक गरिएको खर्च विवरणमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको हेलिकप्टरको खर्च भने समावेश नगरिएको उल्लेख गरिएको छ।

प्रकाशित २०८२/१२/०१ आईतबार १०:४८ बिहान


