पार्टीले आयोजना गरेको नव निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने क्रममा रवि लामिछानेले व्यक्ति केन्द्रित नभई, देश केन्द्रित राजनीति आजको आवश्यक भएको साथै जिम्मेवार, जनकेन्द्रित र समावेशी राजनीति गर्नुपर्नेमा जोड दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछानेले पुरानै शैलीको व्यक्तिकेन्द्रित राजनीतिले देशलाई अगाडि बढाउन नसक्ने चेतावनी दिँदै अब देश केन्द्रित सोच र व्यवहार आवश्यक रहेको बताएका हुन्। “म केन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन भने हाम्रो अवस्था पुराना दलका नेताभन्दा पनि खराब हुनेछ,” उनले भने।
त्यसैगरी उनले जनताको सपना बोकेर अघि बढ्नु नै नेताको मुख्य दायित्व भएको उल्लेख गरे। “यो समाज हाम्रो सपना बोक्न बाध्य छैन, तर हामीले समाजको सपना बोक्नुपर्छ,” उनले सांसदहरुलाई सम्झाए।
प्रशिक्षणका क्रममा लामिछानेले शहिद परिवारको योगदान सम्झिन आग्रह गर्दै नैतिक जिम्मेवारीबोधका साथ काम गर्न निर्देशन दिए। उनले भने, “शहिदका आमाहरुको त्याग सम्झेर कुनै पनि बिचौलियासँग साठगाँठ गर्नु अघि एकपटक सोच्नुपर्छ।”
त्यस्तै, उनले क्षेत्रीय असन्तुलन हुनेगरी बजेट विनियोजन नगर्न पनि चेतावनी दिए। “शक्ति आर्जन गरेर आफ्नो क्षेत्रमा मात्रै बजेट लैजानु विकास होइन। कर्णाली, मधेश वा सुदूरपश्चिमलाई पछाडि पारेर गरिएको विकास साँचो विकास हुन सक्दैन,” उनले स्पष्ट पारे।
लामिछानेले सम्पूर्ण सांसदहरुलाई समग्र देशको हितलाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्दै विकासलाई समावेशी, सन्तुलित र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन्।




प्रकाशित २०८२/१२/०५ बिहिबार ६:४३ बिहान


