काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बिहीबार बस्दैछ। पार्टीले अपराह्न ४ बजे केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो।
बैठकको मुख्य एजेन्डा संसदीय दलको नेता चयन गर्नु रहेको छ। आजको बैठकले बालेन शाह लाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गर्ने भएको छ।
यस अघि प्रतिनिधि सभा सदस्य निर्वाचन अघि नै रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरिसकेको थियो। नेपालको संवैधानिक व्यवस्था अनुसार संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने प्रावधान भएकाले सोही अनुसार प्रक्रिया अघि बढाइएको हो।
निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्दै रास्वपा प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेको छ। त्यसैका आधारमा पार्टीले अब सरकार गठनको प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो ।
संसदीय दलको नेता चयनका लागि कुनै मतदान नगरी सहमतिमै निर्णय गर्ने सहमति यस अघि नै बनिसकेको थियो। सोही अनुसार आजको बैठकले औपचारिक रूपमा बालेन शाहलाई संसदीय दलको नेतामा चयन गर्नेछ।
यससँगै भोलि बालेन शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने कार्यतालिका तय गरिएको स्रोतले जनाएको छ।
प्रकाशित २०८२/१२/१२ बिहिबार ७:४८ बिहान


