काठमाडौँ । नेपाली राजनीतिको रङ्गमञ्चमा यति तीव्र रूपान्तरण सायदै कसैले सोचेको थियो। २०७९ को निर्वाचनमा ‘घण्टी’ बजाउँदै २१ जनाको सानो टोली लिएर संसद् छिर्दा धेरैले यसलाई ‘एक पटकको लहर’ मात्र भनेका थिए। तर, २०८२ को निर्वाचनको नतिजाले ती सबै विश्लेषणलाई इतिहासको रद्दीटोकरीमा फालिदिएको छ। १८२ सिटको प्रचण्ड बहुमत—यो केवल एउटा पार्टीको जित मात्र होइन, यो त पुराना दलहरूको ‘सिन्डिकेट’ विरुद्ध नेपाली जनताले गरेको विद्रोहको दस्तावेज हो।
घेराबन्दीदेखि विजयको शिखरसम्म
२०७९ देखि २०८२ सम्मको समय रास्वपा सभापति रवि लामिछानेका लागि कुनै ‘अग्निपरीक्षा’ भन्दा कम थिएन। कहिले नागरिकताको विवाद, कहिले राहदानीको किचलो त कहिले सहकारी प्रकरणको चर्को राजनीतिक हमला। राज्यका संयन्त्रहरू उनलाई रोक्न उद्यत देखिन्थे। तर, जति-जति उनलाई घेराबन्दी गरियो, उति-उति उनी जनमानसमा ‘सिस्टम’ विरुद्ध लड्ने योद्धाका रूपमा स्थापित भए। रविले ती सबै हिलोलाई आफ्नो शक्तिको इन्धन बनाए र २१ सिटको जगमा १८२ सिटको साम्राज्य खडा गरे।
वरिष्ठ नेता बालेन शाह र ‘जेन्जी’ क्रान्तिको प्रभाव
यो परिवर्तनको भित्री कथा ‘जेन्जी’ (Gen Z) पुस्तासँग जोडिएको छ। सामाजिक सञ्जालमा रमाउने, प्रविधि बुझ्ने र कामको परिणाम खोज्ने युवाहरूले यसपटक ‘ब्यालेट’ मार्फत आफ्नो तागत देखाए। रास्वपाका वरिष्ठ नेता बालेन शाहले काठमाडौँ महानगरपालिकामा सुरु गरेको ‘सिस्टम’ सुधारको हुटहुटी र रास्वपाको ‘डेलिभरी’ को एजेन्डा एकापसमा यसरी मिसिए कि पुराना दलका ‘किल्ला’ हरू गर्ल्यामगुर्लुम ढले। बालेनको कार्यशैलीले जनतामा एउटा विश्वास जगाएको थियो— “यदि स्थानीय तहमा बालेनले गर्न सक्छन् भने केन्द्रमा रास्वपाले किन सक्दैन?” त्यही विश्वास नै १८२ सिटको मुख्य आधार बन्यो।
सपथमा ‘इन्द्रेणी’ नेपाल: पहिचान र स्वाभिमानको संगम
आज संघीय संसद्को हलमा एउटा फरक दृश्य देखियो। सपथ लिन पुगेका १८२ सांसदहरू केवल एउटै रङका थिएनन्। कोही नेवारी हाकुपटासीमा सजिएका थिए, कोही थारु पहिरन र लङ्गौटीमा। कसैको शिरमा ढाका टोपी थियो भने कोही हिमालको बख्खु र तराईको धोती-कुर्तामा गर्वका साथ उभिएका थिए।
रास्वपालाई ‘सहरी र एलिट’ वर्गको पार्टी भन्नेहरूका लागि यो दृश्य एउटा गतिलो जवाफ थियो। लिम्बू, राई, गुरुङ, मधेशी, दलित र मुस्लिम समुदायका युवाहरूले आ-आफ्नो भाषा र भेषभूषामा सपथ लिँदै गर्दा संसद् भवन साँच्चिकै ‘इन्द्रेणी’ नेपाल जस्तै देखिएको थियो। यसले प्रष्ट पार्यो— रास्वपा अब केवल काठमाडौँको पार्टी रहेन, यो त मेचीदेखि महाकालीसम्मको साझा भावना बन्यो।
चुनौतीको हिमाल अगाडि
प्रचण्ड बहुमतसँगै जिम्मेवारीको भारी पनि उत्तिकै गहुँगो छ। २१ सिट हुँदा प्रश्न गर्ने सुविधा थियो, तर १८२ सिट हुँदा अब काम गरेर देखाउनु पर्ने बाध्यता छ। जनताले रास्वपालाई मत दिएका हुन् किनकि उनीहरू पुराना अनुहार र उस्तै आश्वासनबाट थाकिसकेका थिए। अबको ५ वर्ष रवि लामिछाने, बालेन शाह र उनको टोलीका लागि ‘परिवर्तनको प्रयोगशाला’ हुनेछ
नेपाली राजनीतिमा अब ‘नयाँ भर्सेस पुराना’ को लडाइँ सकिएको छ। अबको लडाइँ ‘परिणाम र डेलिभरी’ को हो। १८२ सांसदको यो फौजले संसद् छिर्दै गर्दा केवल कुर्सी ओगट्न आएको होइन, एउटा पुरानो र जर्जर भइसकेको प्रणालीलाई उखेलेर नयाँ नेपालको जग बसाल्न आएको सन्देश दिएको छ। ‘निलो तुफान’ ले उडाएका पुराना पातहरूको ठाउँमा अब नयाँ पालुवा कसरी पलाउँछन्, त्यो हेर्न बाँकी नै छ।
प्रकाशित २०८२/१२/१३ शुक्रबार १२:०० मध्यान्ह


