काठमाडौँ
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का क्रममा हुने निर्वाचन प्रचार–प्रसार खर्चलाई अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत सञ्चालन गर्न कार्यविधि जारी गरेको छ। निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता, २०७९ का विभिन्न व्यवस्थाका आधारमा आयोगको मिति २०८२/१०/२० गतेको बैठकले निर्वाचन प्रचार–प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ स्वीकृत गरी लागू गरेको हो।
आयोगका अनुसार निर्वाचनमा भाग लिने सबै राजनीतिक दल, ती दलबाट उम्मेदवारी दिएका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसारका लागि प्राप्त हुने आर्थिक सहयोग तथा गरिने आम्दानी–खर्च तोकिएको बैंक खातामार्फत नै गर्नुपर्नेछ। राजनीतिक दलका हकमा निर्वाचन आयोगको सचिवालयबाट र उम्मेदवारका हकमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट सिफारिस गरी बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचन प्रचार खर्चलाई पारदर्शी, अनुशासित र आधुनिक बैंकिङ प्रणालीसँग आवद्ध गराउने उद्देश्यले कार्यविधि जारी गरिएको भन्दै आयोगले निर्वाचन कार्यालय, बैंक तथा वित्तीय संस्था र सरोकारवाला सबै पक्षबाट सक्रिय सहयोग, समन्वय र सहजीकरणको अपेक्षा गरेको छ।

प्रकाशित २०८२/१०/२२ ७:१२


