काठमाडौँ
निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतका उम्मेदवारहरूलाई निर्वाचन घोषणापत्र समयमै सार्वजनिक गर्न निर्देशन दिएको छ।
निर्वाचन आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम सबै राजनीतिक दलले २०८२ फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी आयोगमा पेश गर्नुपर्नेछ। त्यस्तै, उम्मेदवारहरूले भने आफ्नो सम्बन्धित निर्वाचन कार्यालयमा घोषणापत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
यो निर्देशन राजनीतिक दल ऐन, २०३७ को दफा ५७ बमोजिम जारी गरिएको हो। आयोगको आज मिति २०८२/१०/२७ मा बसेको बैठकमा यस सम्बन्धी प्रस्ताव नम्बर ४४० माथि छलफल गरी निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगले घोषणापत्र सार्वजनिक गर्दा कानुन, निर्वाचन आचारसंहिता र लोकतान्त्रिक मूल्य–मान्यताको पूर्ण पालना गर्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरेको छ।


प्रकाशित २०८२/१०/२७ १७:३९


