निर्वाचन आयोगले यहिँ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि राजनीतिक दल तथा उम्मेदवारहरूलाई लक्षित गर्दै ६४ बुँदे निर्देशन सार्वजनिक गरेको छ।
आयोगले निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन यी निर्देशनहरू जारी गरेको हो। निर्देशन अनुसार निर्वाचनको क्रममा कुनै पनि व्यक्तिलाई उम्मेदवारी दिन, मतदान गर्न वा मतदान सम्बन्धी अधिकार प्रयोग गर्न बाधा–अवरोध पुर्याउने, थुनछेक गर्ने वा गराउने कार्य गर्न निषेध गरिएको छ।
त्यस्तै, कुनै किसिमको हतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, क्षति पुर्याउने, धाकधम्की दिने, डर–त्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पुर्याउने, सामाजिक बहिष्कार गर्ने वा त्यसको धम्की दिने, लोभ–लालच वा आर्थिक प्रलोभन देखाउने, झुटा आश्वासन दिने जस्ता कार्य गर्न नपाइने स्पष्ट गरिएको छ।
निर्वाचन प्रचारप्रसारका सन्दर्भमा आयोगले संवत् २०८२ फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चारमाध्यममार्फत प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण तथा घरदैलो कार्यक्रम गर्न पाउने व्यवस्था गरेको छ।
निर्वाचन अवधिभित्र कुनै पनि मतदातालाई मतदान गर्न वा नगर्नका लागि उपहार, पुरस्कार, इनाम, दान–दक्षिणा, नगद वा जिन्सी दिन वा दिन स्वीकृति दिन, सार्वजनिक भोज आयोजना गर्न वा त्यसका लागि रकम संकलन गर्न नपाइने आयोगले जनाएको छ।
यस्तै, जेष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति लगायतका समुदायको भावना, इज्जत, चरित्र र सामाजिक प्रतिष्ठामा आँच पुग्ने किसिमको प्रचारप्रसार गर्नसमेत निषेध गरिएको छ।
आयोगले जारि गरेको निर्देशनको पूर्ण पाठ हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
प्रकाशित २०८२/११/०३ ४:४१ दिउँसो


