भक्तपुर ,फागुन
नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ का उम्मेदवार प्रेम सुवालले आफ्नो पार्टी जनताको सेवाका लागि राजनीतिमा रहेको स्पष्ट गर्नु भएको छ। धरदैलो अभियानका क्रममा मतदाता सँग बोल्दै उहाँले पद र स्वार्थका लागि नभई देश र जनताको हितका लागि चुनावी मैदानमा उत्रिएको बताउनु भयो।
उहाँका अनुसार नेपाल मजदुर किसान पार्टीले विद्यालय तहदेखि विश्वविद्यालयसम्मको शिक्षा निःशुल्क गर्ने, स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क बनाउने र नेपालीको पैसा विदेशमा राख्न नपाइने व्यवस्था गर्ने प्रतिबद्धता लिएको छ। खुल्ला सीमाका कारण उत्पन्न सीमा अतिक्रमणका समस्या रोक्न कडा नीति अपनाइने र देशका नदी–नाला तथा प्राकृतिक स्रोत विदेशीलाई सुम्पिएको आरोप लगाउँदै उहाँले अन्य राजनीतिक दलहरूको कडा आलोचना गर्नुभयो।
प्रेम सुवालले विगतमा प्रधानमन्त्री बनेका कसैले पनि जन अपेक्षा अनुसार राम्रो काम नगरेको आरोप लगाउँदै भन्नुभयो, “अहिलेसम्म कसैले पनि विश्वविद्यालय खोलेनन्। अब हामी, नेपाल मजदुर किसान पार्टी, भक्तपुरमै विश्वविद्यालय स्थापना गरेर कम शुल्कमा जनताका छोराछोरीलाई उच्च शिक्षा दिने योजना बनाउँदैछौं।”
उहाँले सबै नदी–नाला भारतलाई दिएर देशलाई अन्याय गरिएको आरोप समेत लगाउँदै, अहिलेको अवस्थाले भावी पुस्ताको भविष्य संकटमा परेको चिन्ता व्यक्त गर्नुभयो। “सबै मिलेर देश बेचिसके, अब हाम्रा सन्तानले आफ्नै देश नपाउने हुन् कि भन्ने डर छ,” उहाँले भन्नुभयो।
चुनावी तयारीबारे जानकारी दिँदै उहाँले पार्टीले प्रत्यक्षतर्फ १२० स्थान र समानुपातिकतर्फ ११० स्थानमा उम्मेदवार दिएको बताउनुभयो। साथै, महिलाको अधिकारका लागि सशक्त रूपमा लड्ने एकमात्र पार्टी नेपाल मजदुर किसान पार्टी रहेको दाबी समेत गर्नुभयो।
धरदैलो अभियानमार्फत जनताको घर–घरमा पुगेर आफ्ना नीति, कार्यक्रम र प्रतिबद्धता प्रस्तुत गरिरहेको नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा विशेष रूपमा शिक्षा, स्वास्थ्य र राष्ट्रिय स्वाधीनताको मुद्दालाई प्राथमिकतामा राखेको प्रेम सुवालको भनाइ छ।

प्रकाशित २०८२/११/१० आईतबार १:३७ दिउँसो


