आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्गले युवा पुस्तालाई केन्द्रमा राखेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको छ। घोषणापत्रमा वर्तमान शिक्षा प्रणाली, युवाको भविष्य र आत्मनिर्भर राष्ट्र निर्माणलाई जोड दिइएको छ।
घोषणापत्र अनुसार विद्यालय तहमा हप्ताको ३ दिन मात्र किताबी पढाइ गरिने र बाँकी ३ दिन व्यवहारिक सिप सिकाइने व्यवस्था गरिने उल्लेख छ। यसबाट शिक्षा केवल प्रमाणपत्रमा सीमित नभई व्यवहारमा उपयोगी हुने विश्वास पार्टीको छ।
त्यस्तै, कक्षा १२ उत्तीर्ण गरेपछि सबै युवालाई ६ महिनाको अनिवार्य सैनिक तालिम दिने प्रस्ताव अघि सारिएको छ। यसले युवामा अनुशासन, जिम्मेवारीबोध र राष्ट्रप्रतिको कर्तव्य भावना विकास गर्ने दाबी गरिएको छ।
युवालाई राजनीतिक दुरुपयोगबाट जोगाउन स्वतन्त्र र जिम्मेवार नागरिक बनाउने, कृषि, प्रविधि र उद्यमशीलतालाई विद्यालय तहदेखि नै अनिवार्य अभ्यास गराउने नीति घोषणापत्रमा समावेश गरिएको छ। साथै, युवालाई श्रमदान, वृक्षारोपण तथा उत्पादनमूलक कामसँग जोड्दै आत्मनिर्भर र सिपयुक्त बनाउन दीर्घकालीन योजना अघि सारिएको छ।
श्रम संस्कृति पार्टीले युवालाई बोझ होइन, राष्ट्र निर्माणको मुख्य आधार मानेर नीति निर्माण गरिएको बताएको छ।

प्रकाशित २०८२/११/१० आईतबार ६:२२ बेलुका


