चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर–३ बाट उम्मेदवार बनेकी Renu Dahal ले निर्वाचन परिणामपछि मतदाताप्रति आभार व्यक्त गरेकी छिन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै दाहालले झण्डै ३० वर्षको राजनीतिक यात्रामध्ये भरतपुरको विकास, समृद्धि र सुशासनका लागि नौ वर्ष समर्पित गरेको उल्लेख गरेकी छिन्। जनताका सपना, आवश्यकता र चाहनाहरू पूरा गर्नु नै आफ्नो सपना भएको उनले बताएकी छिन्।
विकासका लागि जनपक्षीय नीति–नियम आवश्यक रहेको महसुस गर्दै नगरप्रमुखको कार्यकाल अझै १५ महिना बाँकी रहँदा पनि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको उनले उल्लेख गरेकी छिन्।
निर्वाचन परिणामप्रति सम्मान व्यक्त गर्दै उनले आफूले काममार्फत जनताको मन जिते पनि मत जित्न नसकेको बताएकी छिन्। रास्वपा का विजयी उम्मेदवार Sobita Gautam लाई बधाई दिँदै चितवनबासीको मत खेर नजाने विश्वास व्यक्त गरेकी छिन्।
दाहालले चुनावी अभियानमा साथ दिने नेता–कार्यकर्ता, समर्थक, शुभेच्छुक, मिडियाकर्मी तथा कलाकारप्रति आभार व्यक्त गर्दै चितवनबासीको हकहित, विकास र समृद्धिका लागि आगामी दिनमा पनि निरन्तर साथमा रहने प्रतिबद्धता जनाएकी छिन्।

प्रकाशित २०८२/११/२३ सनिबार २:२० दिउँसो


