धादिङ निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बोधनारायण श्रेष्ठ २६ हजार १४३ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेशप्रसाद धमलाले २० हजार २७७ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा एमालेका धनबहादुर घले १० हजार ८४ मतसहित तेस्रो स्थानमा रहेका छन्।
यसै निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारीले ९ हजार ३५ मत प्राप्त गरेका छन्। चौथो स्थानमा रहे पनि भण्डारीले प्राप्त गरेको मतलाई धेरैले सम्मानजनक रूपमा लिएका छन्।
रामबहादुर भण्डारी लामो समयदेखि राजनीतिक आन्दोलन र जनताको हक–अधिकारको पक्षमा सक्रिय रूपमा लाग्दै आएका व्यक्ति हुन्। देश र जनताको पक्षमा संघर्ष गर्दै गर्दा उनले आफ्ना दुई सन्तानसमेत गुमाएका पीडादायी इतिहास बोकेका छन्। उहाँ आफु पनि संघर्ष कै क्रममा मारेर बाँचेका व्यक्ति हुन् त्यसैले उहालाई “जिउँदो सहिद”को रूपमा सम्मान गर्ने गर्छन्।

लामो समयसम्म पार्टीमा योगदान दिए पनि पार्टी नेतृत्वले उनको योगदानलाई पर्याप्त रूपमा मूल्यांकन नगरेको र उनलाई उम्मेदवार बन्ने अवसर नदिएको गुनासो रहँदै आएको थियो। तर पछिल्ला राजनीतिक परिवर्तन, विशेषगरी नयाँ पुस्ताको आन्दोलन र जनस्तरमा देखिएको परिवर्तनको मागपछि पार्टीले यसपटक उनलाई उम्मेदवार बनाएको बुझिन्छ।
कतिपयले धादिङ–२ का मतदाताबाट सहानुभूति मत प्राप्त हुने अपेक्षा पनि गरिएको बताउँछन्। यद्यपि देशभर परिवर्तनको लहर चलेको वर्तमान अवस्थामा भण्डारीले जित हासिल गर्न नसके पनि उनले प्राप्त गरेको ९ हजारभन्दा बढी मतलाई सामान्य उपलब्धि मान्न सकिँदैन।
धादिङ–२ का धेरै मतदाताले अझै पनि भण्डारीप्रति सम्मान र माया राखेको संकेत उनको मतपरिणामले देखाएको विश्लेषण गरिएको छ।
यसै निर्वाचन क्षेत्रमा उज्यालो नेपाल पार्टीका अमिर तामाङले ८४१ मत प्राप्त गरेका छन्।

प्रकाशित २०८२/११/२३ सनिबार ९:२५ बेलुका


