धादिङ निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका रामबहादुर भण्डारीले निर्वाचनमा करिब ९ हजार ३६ मत प्राप्त गरेका छन्। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बोध नारायण श्रेष्ठले २६ हजार १४३ मत ल्याएर विजयी भएका थिए।
निर्वाचन परिणामपछि सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै भण्डारीले आफूलाई मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गरेका छन्। उनले प्रतिनिधिसभा निर्वाचन २०८२ फागुन २१ गते धादिङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा जनतामाझ गएको स्मरण गर्दै राष्ट्रिय स्वाधीनता, भ्रष्टाचारमुक्त देश, व्यवस्थाको मर्म अनुसार परिवर्तन, आत्मनिर्भर अर्थतन्त्रको विकास तथा समाजवादी क्रान्तिको अवधारणालाई अघि बढाउने उद्देश्यका साथ उम्मेदवारी दिएको बताएका छन्।
भण्डारीले आफूलाई विश्वास गरेर ९,०३६ मत प्रदान गर्ने न्यायप्रेमी मतदातालाई सहृदय धन्यवाद व्यक्त गरेका छन्। विशेषगरी रुबिभ्याली र खनियाबास गाउँपालिका लगायतका क्षेत्रका मतदाताप्रति उनले कृतज्ञता प्रकट गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै जनताको मुक्ति र परिवर्तनका लागि आफू निरन्तर संघर्षरत रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। “सबै न्यायप्रेमी जनताको मन जितेर पनि मत जित्न असक्षम भएकोमा विगतझैं सेवा गर्दै राजनीति र वैचारिक रूपमा सबैको मन र मत दुवै जित्ने प्रयास जारी राख्नेछु,” उनले उल्लेख गरेका छन्।
साथै, आफूलाई उम्मेदवारीको अवसर प्रदान गर्ने पार्टी नेतृत्व, निर्वाचन अभियानमा साथ दिने सहयोद्धा कमरेडहरू, सञ्चारकर्मी तथा मतदाता बुवा–आमा, दाजुभाइ तथा दिदीबहिनीप्रति पनि उनले धन्यवाद व्यक्त गरेका छन्।

प्रकाशित २०८२/११/२४ आईतबार ७:४८ बिहान


