फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ठूलो संख्यामा उम्मेदवारहरूको जमानत जफत भएको छ। निर्वाचन आयोगका अनुसार कुल २,८९० जना उम्मेदवारको जमानत जफत भएको छ भने ३५० जना उम्मेदवारले एक भोट पनि प्राप्त गर्न सकेनन्।
निर्वाचन कानुन अनुसार कुल सदर मतको न्यूनतम १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ। यही व्यवस्थाका कारण अधिकांश स्वतन्त्र तथा साना दलका उम्मेदवारहरूको जमानत जफत भएको हो।
त्यस्तै, देशका विभिन्न निर्वाचन क्षेत्रमा केही उम्मेदवारले आफ्नो मत समेत प्राप्त गर्न नसकेको देखिएको छ। जसका कारण कतिपय उम्मेदवारहरूले आफैंले पनि मत नहालेको हुनसक्ने चर्चा सामाजिक सञ्जालमा भइरहेको छ।
यस पटकको प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र तथा विभिन्न साना दलबाट ठूलो संख्यामा उम्मेदवारी परेको थियो। तर मतपरिणाम सार्वजनिक भएपछि धेरै उम्मेदवारले अपेक्षित मत प्राप्त गर्न नसक्दा जमानत जफत हुनेको संख्या उल्लेख्य देखिएको छ।
प्रकाशित २०८२/११/२७ बुधबार २;३२ दिउँसो


