काठमाडौं,२८ माघ
आगामी २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ।
निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम स्वीकृत उक्त कार्यक्रमको उद्देश्य आम नागरिकलाई मताधिकारको महत्व र मतदान प्रक्रियाबारे स्पष्ट जानकारी गराउनु रहेको आयोगले जनाएको छ।
आयोगका अनुसार फागुन ३ गतेदेखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तह अन्तर्गत ६,७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। खटिएका स्वयंसेवकहरूले वस्ती–वस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे जानकारी दिनेछन्।
यसका साथै आयोगले आमसञ्चार माध्यममार्फत विभिन्न किसिमका मतदाता शिक्षा सामग्री उत्पादन गरी प्रकाशन तथा प्रसारण गर्ने तयारी गरिरहेको जनाएको छ। मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउन विभिन्न सरोकारवालासँग छलफल तथा अन्तक्रिया कार्यक्रमहरू समेत सञ्चालन भइरहेको आयोगको भनाइ छ।
निर्वाचन आयोगले प्रभावकारी मतदाता शिक्षाले मतदाताको सहभागिता बढाउने र बदर मतको अनुपात न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस कार्यमा सातै प्रदेश सरकार, ७५३ स्थानीय तह, निर्वाचनमा प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार, सञ्चार जगतलगायत सम्पूर्ण सरोकारवालाहरूलाई सहयोग, समन्वय र सहजीकरण गर्न हार्दिक अनुरोध गरेको छ।

प्रकाशित २०८२/१०/२८ ८:३०


